३०
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति ।
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ॥
३१
चिताको चौतर्फी करुण बिलनाको वश परी
छिनेको मोतीको लहर सरि आँशू बरबरी ।
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको
रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको ॥
३२
चितामा चित् खाई चटचट गरी देहममता
डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
विधाताको कालो विलयविधि हाँस्यो हिलिहिली ॥
३३
दुखी जाँदा हाँस्यो सहजसुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥
३४
म हाँसेको, हाँसोमय छ सबको जन्मनिधन
नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्दजलधि ॥
३५
कठै त्यो वेलामा उभय गुरुचेला सँग थियौं
पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौं ।
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
रहे चित्तै हाँसी अतुल परमाऽऽनन्दमदमा ॥
Page:Tarun tapasi.pdf/123
Appearance
This page has not been proofread
