६
तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कविकलाको अनुभव ॥
७
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना ?
८
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा ।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता ?
९
झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रसझरी ।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥
१०
हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कविसम्मेलन गरी ।
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
बिलायेको देखें नबुझिकन क्यै मर्म उसको ॥
११
झुकें केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्धविषय ॥
Page:Tarun tapasi.pdf/113
Appearance
This page has not been proofread
