Jump to content

Page:Tarun tapasi.pdf/112

From Nepali Proofreaders
Revision as of 21:12, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
सप्तदश विश्राम


परिपूर्ण पवित्र सुन्दर
मुनिको शान्तिसुधासरोवर ।
अलिबेर पछी छचल्कियो
श्रुतिमा शीतलता भरीदियो ॥


डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
म उत्रें बिस्तारै अविदित कुनै दीर्घ मितिमा ।
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
हिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥


उदेकायें केही, मगज तह लायें, पवनको
थमौतीमा ल्यायें गति, कल चलायें वचनको ।
घुमायें चौतर्फी नयन, मुसुकायें, अलिकति
सबै देख्दै आयें क्षणिक दुनियाँको परिणति ॥


म फेरी टोह्लायें, स्मृतिपथ सबै उज्ज्वल भयो
अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो ।
उताको त्यो भास्यो घन चितिचमत्कार बिपना
यताको यो सारा तप र तपसीजन्म सपना ॥


बिलायो निद्रा वा जटिल ममताको घनघटा
मुटूले भेट्टायो बहुत रसिलो जागृतिछटा ।
जता लायो आँखा झलमल उतै रामरमिता
अनौठाको भास्यो प्रथम कविको विश्वकविता ॥