Jump to content

Page:Tarun tapasi.pdf/110

From Nepali Proofreaders
Revision as of 21:08, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२४
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजनविधि
अहो गर्दो होला मधुर छवि छर्दै निरवधि ?

२५
अहो पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो ॥

२६
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥

२७
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि
मुटूले भेट्टायो गगनगुरुको रूप सकली ॥

२८
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें ।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?

२९
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥