Jump to content

Page:Tarun tapasi.pdf/100

From Nepali Proofreaders
Revision as of 21:07, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो ।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥


उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रमविधि ।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै ॥


पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो ॥