Jump to content

Page:Tarun tapasi.pdf/96

From Nepali Proofreaders
Revision as of 21:07, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१५
कसैले द्योराली भनिकन ठुलो आदर गरे
कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे ।
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें
कसैको लेखामा भय भुटिदिने भैरव भयें ॥

१६
हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी
सदा पूजा गर्दै चरणतलमा लम्पट परी
पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्'
म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस् ॥

१७
सदा यै चालाले अबुझहरु विश्वासवश भै
त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै ।
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो
पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥

१८
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन् ।
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको
कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको ॥

१९
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे ।
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि ॥

२०
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
लिई माला, छालाउपर दृढ पद्माऽसन धरी ।
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी ॥