१८
फुका बाबू भित्री किरणगठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि बजा ॥
१९
कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् ।
स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा ॥
२०
खुलायिस् यो मेरो नयन जुन आलोकलवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले ।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैं बढ्दै जाऊन् अनवरत कर्तव्यपथमा ॥
२१
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी ।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥
२२
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवणबिच चैतन्यमुरली ।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥
२३
अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी ।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥
Page:Tarun tapasi.pdf/84
Appearance
This page has not been proofread
