This page has not been proofread
एकादश विश्राम
१
भरिलो मुखचन्द्रमाधुरी
धमिल्याई उस तर्कले गरी ।
अलि बेर चुपै रहे मुनि
पछि निस्क्यो अनि शीतल ध्वनि ॥
२
कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी
चलेकै वेलामा मनुजहरु आई थरिथरी ।
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
नराखी त्यो मेरो मधुर पगरीको छतिपति ॥
३
झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
ममा जो वर्षाये अबुझ बटुवाले उस घडी ।
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
बनीहाल्यो मेरो सकल चकनाचूर छुकुनी ॥
४
कुनै ती हल्लन्थे शिर सब थिची झयाँकुसि गरी
कुनै हान्थे, तान्थे, करकिशलयच्छेदन गरी ।
कसैले मर्काये भरसक निमोठी परपरी
बिपत्ता भैहाल्यो प्रकृतिकरुणाप्राप्त पगरी ॥
५
म त्यो चौरस्तामा जुन थकित लाखौं पथिकको
सदा माला फेर्थें परम हित वा शान्तिसुखको ।
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
अली क्यै मैलो भो कठिन तपको सिद्धिसपना ॥