Jump to content

Page:Tarun tapasi.pdf/37

From Nepali Proofreaders
Revision as of 18:32, 5 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread
पञ्चम विश्राम


वचनामृत त्यो पियेँ जति
दिलमा प्यास बढ्यो अहो ! उति ।
अब त्यो कब पाउँला भनी
अडियेँ निश्चल दीप झैँ बनी ॥


चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा ।
खुल्यो जोडी लामा कमल-दल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥


निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोक-लहरी ।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !!


बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै !
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥


थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको ॥