Jump to content

Page:Tarun tapasi.pdf/67

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित ।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
भयो चौबाटाको जनम तप वा वास विफल ॥


कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ ।
विपद् बाधा भोका अतिथिजनको हेर्नसहन
नशक्नाले सल्क्यो जननि मनमा शोकदहन ॥


नपाई खाना क्यै उदरगत रुद्राऽनल बली
जलेको देख्दा त्यो गरिबजनको जीवनकलि ।
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
त्यसैले यो गर्छू जननि पदमा विन्तिविनय ॥


उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव
फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब ।
जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन
म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥


नशक्नाले भोको अतिथिजनको गर्न कदर
वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर ।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
कमी केको होला ? किन मकन पार्यौ सकसमा ?


पुकारा यो सारा विकल बटुवाखातिर गरी
झकायें चिन्तामा, अलि दिन भयें मूर्छित सरी ।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
ममाथी चौतर्फी फल र फुलका हार उनिछन् ॥