७
कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले
कठै! यस्तै चालासित कठिन धेरै दिन चले ॥
८
यताको यो बोधा, तल पयरमा कीट कठिन
तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन ।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
सहाराले सारा मरि मरि सहेँ घात खलको ॥
९
कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो
कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो ।
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति
मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥
१०
कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।
परीक्षा हो वा त्यो पर-हित-महामन्त्र-जपको ?
थियो यद्वा दीक्षा-विधि नियम त्यो तीव्र तपको ॥
११
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।
कुनै जान्दो हो ता मनुज पर-पीडा अलिकति
मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥
१२
हजारौं ती धक्का रगडहरु खाँदै हरघडी
अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
हटे सुस्तै सुस्तै नियति-गतिले ती पशु पनी ॥
Page:Tarun tapasi.pdf/26
Appearance
This page has been proofread
