६
जगद्धात्री देवी प्रकृतिजननीमा विषमता
हुनाले झल्केको भुवनबिच के मिल्छ समता ?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि ॥
७
अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो ।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
लपेटेकै देखें उस विषमताले फनफनी ॥
८
घडी झुम्रेझाम्रे मलमलिन ढाक्रे र भरिया
घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया ।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
थियें साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥
९
झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
उनी माला मोतीसदृश पसिनाको दिवसमा ।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
सबै शोची (षी) लिन्थें म पनि गहना त्यो सुपथमा ॥
१०
जती प्यूँथ्यो चौकी गरम पसिना पान्थजनको
उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको ।
म भन्थें तत्कालै पर पर पुर्याईकन भुजा
यता झर्ने चर्का रविकिरण पार्छू सब कुजा ॥
११
कडा राँको जस्ता रविकिरणको ताप फिंजिंदा
कठै बाटोघाटो रिपुमुलुक झैं दुर्गम हुँदा ।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥
Page:Tarun tapasi.pdf/55
Appearance
This page has not been proofread
