१
यसरी बहँदो घरी घरी
मुनिको शीतल सूक्तिमाधुरी ।
बिचमा जति रोकियो उति
दिन थाल्यो नव भावजागृति ॥
२
फराकीलो चौकीउपर बलियो आसन कसी
म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी ।
थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले
मलाई सुम्पन्थे पल पल शुभाऽऽशी हृदयले ॥
३
मल्हामी आऊन् वा मलिन मुख लायेर मुडुला
बिसाऊन् वा जन्तीहरु वरबधूसाथ सुकिला ।
समानै दिन्थें ती उभयकन छाया म तिनको
स्वयं लिन्थें छाया प्रणयसित सम्पूर्ण मनको ॥
४
छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती
कुनै त्यागी होस् वा विषयरस रागी लखपति ।
समानै ठान्थें ती विधिविहित चैतन्यपुतली
पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥
५
समै भित्री श्रद्धा, सम अतिथिसत्कारविधि त्यो
समै प्यारो चौकीमय चहकिलो शान्तिनिधि त्यो ।
थला मारी झुल्थें म पनि समताकै रहरमा
थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥
Page:Tarun tapasi.pdf/54
Appearance
This page has not been proofread
अष्टम विश्राम
