This page has not been proofread
६
बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥
७
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी ।
म रुन्थें; साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥
८
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचयकला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?