Jump to content

Page:Tarun tapasi.pdf/27

From Nepali Proofreaders
Revision as of 20:38, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१३
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
सुबिस्ताको साथै धृति र बल उत्साह मनको ।
उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका
जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभरिका ॥

१४
हवाको, पानीको, धरणिजननीको रसबल
लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल ।
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
जमें, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥

१५
थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो ।
चरा तेही मेरो मधुर मुहुनीको वश परी
परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी ॥