Jump to content

Page:Tarun tapasi.pdf/26

From Nepali Proofreaders
Revision as of 20:38, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले
कठै यस्तै चालासित कठिन धेरै दिन चले ॥


यताको यो बोधा, तल पयरमा कीट कठिन
तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन ।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
सहाराले सारा मरि मरि सहें घात खलको ॥


कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो
कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो ।
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति
मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥

१०
कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।
परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको ?
थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र तपको ॥

११
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।
कुनै जान्दो हो ता मनुज परपीडा अलिकति
मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥

१२
हजारौं ती धक्का रगडहरु खाँदै हरघडी
अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
हटे सुस्तै सुस्तै नियतिगतिले ती पशु पनी ॥