Jump to content

Page:Ritubichar.pdf/50

From Nepali Proofreaders
Revision as of 17:49, 21 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

७०
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवा-तुल्य खेतैमा गर्दछन् घर ॥

७१
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गति-सौन्दर्यले साह्रै गर्दछन् मन-रञ्जन ॥

७२
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेम-पीयूषको घट ॥

७३
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नाम-निशाना दुःख शोकको ॥

७४
खोली कमलको छाता हम्काई काश-चामर ।
ऋतु-राजै-सरी गम्क्यो शरत्‌काल मनोहर ॥

७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्‌को वनमा बद्ध हात्ती-तुल्य छ शोभन ॥

७६
वनमा फल-पुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥

७७
वसन्तकै सरी सारा बगैंचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महक-दार छ ॥

७८
फुलेको हसना-रूप शरत्को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥