Jump to content

Page:Ritubichar.pdf/49

From Nepali Proofreaders
Revision as of 17:46, 21 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

६१
त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी ।
लययुक्त महात्माको चित्तको कलना-सरी ॥

६२
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी ॥

६३
धन, धर्म दुवै धान्नै धान्य-गौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता ॥

६४
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल ॥

६५
एकैनास पसायेका अर्धचन्द्र-समानका ।
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥

६६
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि ।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि ॥

६७
खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ ।
ब्रह्ममा ब्रह्म-वेत्ता झैं लीन हुन्छ मनै वहाँ ॥

६८
बदामी रङ्गको राम्रो देखदा खेतको छवि ।
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि ॥

६९
कृषिको श्रम-साफल्य देखनाले प्रजा सब ।
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥