This page has not been proofread
५२
पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥
५३
लियो सुगन्ध हावाले मिल्कायो तल केशर ।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ?
५४
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी ।
सुवर्णमय देखिन्छन् सारा कमलपोखरी ॥
५५
विधाताले खटायेका कमलद्युतिजाँचमा ।
जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥
५६
लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति ।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥
५७
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि ।
पद्मका वनमा गर्छन् कलहंस कलध्वनि ॥
५८
काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी ।
जलमा अति राम्रो छ हंसको गतिचातुरी ॥
५९
हावाले जलमा राम्रा लहरी जुन आउँछन् ।
झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन् ॥
६०
दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती ।
निराला चालमा चल्छन् को जान्ने तिनका गति ?