This page has not been proofread
७०
कोइलीको मिठो बोली बिलायो कालले गरी ।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी ॥
७१
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमितिमिङ्गिल ।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥
७२
भ्यागुताको जहाँ वास वहीं कमल फुल्दछ ।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥
७३
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस ।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश ॥
७४
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो ।
जीव छन् भ्यागुतातुल्य पद्म ईश्वरभक्ति हो ॥
७५
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट ।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट ॥
७६
मानू स्वर्गीय सङ्गीतकलाको दिव्य माधुरी ।
वर्षन्छ जलधाराको साथैमा त्यो थरीथरी ॥
७७
आकाशगृहमा काली बुढिया मेघमालिका ।
घुम्दछे रातमा बाली बिजुलीमय दीपिका ॥
७८
खेतमा जलका धारा वर्षंदाखेरि बाहिर ।
उर्लन्छ खेतिवालाका मनमा सुखसागर ॥