This page has not been proofread
८८
पालुवा फूल झैं राम्रा हलुका कपडाकन ।
पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा हुन ॥
८९
कसैको अब जाँदैन भद्दा कन्थाविषे मन ।
कालाऽनुगारी सारज्ञ कवि झैं छन् सबै जन ॥
९०
दबाई जेबमा चम्पा लागे रसिक घूमन ।
सुगन्धका कुनै साक्षात् मूर्ति जस्ता बनीकन ॥
९१
वियोगी पान्थका आगे रसिलो ऋतुनायक ।
भयो भारतका लेखा कलि झैं दुःखदायक ॥
९२
कर्याङ्कुरुङको पङ्क्ति एकतामा जमीकन ।
सभ्य संसार झैं थाल्यो उत्तरोत्तर लम्कन ॥
९३
त्यो मानू मधुलक्ष्मीका माथको भृङ्गगुञ्जित ।
नीलपङ्कजमाला झैं देखिन्छ क्षणलम्बित ॥
९४
बेसी हिउँदमा झर्छ वर्षामा लेख पस्तछ ।
पहाडिया गृहस्थी झैं क्रौञ्चको श्रेणि बस्तछ ॥
९५
गाम, बेसी गरी लम्बा बिचरा ती चरा सब ।
जीवनक्रमको शिक्षा स्पष्ट दिन्छन् सगौरव ॥
९६
तडागमा खडा फेरि भयो कमलको वन ।
भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन ?