This page has not been proofread
आर्यजाति
(१)
मनुष्यमा खास मनुष्यताको
विकास गर्दै फिर सभ्यताको
आलोक भर्ने सब विश्वमाथि
संसारमा धन्य छ आर्यजाति
(२)
धेरै अगाडी मुटुभित्र त्यस्को
पर्यो दैवी गतिरुप चस्को
बितर्कमा खूब तरङ्गिँदै गो
मस्तिष्क उस्को सब रङ्गिँदै गो
(३)
छाती टटोल्यो, दुनियाँ टटोल्यो
पशुत्वमा मूर्च्छित दृष्टि खोल्यो
देख्यो उषाको हँसिलो मुहार
उत्थानमा भो सहसा तयार