Jump to content

Page:Munamadan.pdf/49

From Nepali Proofreaders
Revision as of 13:31, 18 April 2025 by Rbn (talk | contribs)
This page has been proofread

बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,
साथमा तारा भएका शशी झ्यालमा चिहाए,
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए ।
+++
आँखाको धूलो पखालिहाल्यौ हे भाइ ! बहिनी !
संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी ।
संसारलाई मुखमा हेरी कम्मर कसेर,
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,
खानु र पिउनु जीवन भए, जिउनु हरे ! के ?
पछिको आशा नभए कठै ! मानिस हरे ! के ?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरी बिलौना नगर,
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,
कर्ममै पुज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद ।