२१
उता द्यौता हाँसे सब मनुजका पालक बनी
यता हाँसे दुःखी मनुज बिचरा बालक बनी।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो
धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो।।
२२
अँठ्याई अर्काको सहजसुख वा जीवनविधि
सुखी हूँला भन्ने कटु समझले दूषित गिदी।
जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र रियाँ
कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ।।
२३
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धिबलको।
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
झिकी हाकाहाकी रणरहर हाँस्यो हिलिलिली।।
२४
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको
चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको।
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा
सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा।।
२५
बनी जाली पक्री प्रकृतिसुखको सुन्दर गला
पुँजी जम्बा गर्ने नियम अथवा सञ्चयकला।
मिहीं खित्का छोडी गजबसित हाँस्यो मनुजमा
जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा।।
२६
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती
उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
उता हाँस्यो नङ्गा मरणतिथि साथै भुटभुटी।।
Page:Tarun tapasi.pdf/121
Appearance
This page has not been proofread
