This page has not been proofread
सप्तदश विश्राम
१
परिपूर्ण पवित्र सुन्दर
मुनिको शान्तिसुधासरोवर।
अलिबेर पछी छचल्कियो
श्रुतिमा शीतलता भरीदियो।।
२
डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
म उत्रें बिस्तारै अविदित कुनै दीर्घ मितिमा।
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
हिलायो तत्कालै मृदु पवनले पल्लव सरी।।
३
उदेकायें केही, मगज तह लायें, पवनको
थमौतीमा ल्यायें गति, कल चलायें वचनको।
घुमायें चौतर्फी नयन, मुसुकायें, अलिकति
सबै देख्दै आयें क्षणिक दुनियाँको परिणति।।
४
म फेरी टोह्लायें, स्मृतिपथ सबै उज्ज्वल भयो
अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो।
उताको त्यो भास्यो घन चितिचमत्कार बिपना
यताको यो सारा तप र तपसीजन्म सपना।।
५
बिलायो निद्रा वा जटिल ममताको घनघटा
मुटूले भेट्टायो बहुत रसिलो जागृतिछटा।
जता लायो आँखा झलमल उतै रामरमिता
अनौठाको भास्यो प्रथम कविको विश्वकविता।।