Jump to content

Page:Tarun tapasi.pdf/105

From Nepali Proofreaders
Revision as of 21:12, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३३}} न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा ::न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा। न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला ::अहा कस्तो राम्रो अमृतमय त्यो जीव...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

३३
न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा
न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा।
न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला
अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला।।

३४
त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
फसेको यो मेरो नयन मनमोजी बहकमा।
भयो घुम्दाघुम्दै उस बखत आश्चर्यचकित
जसै देख्यो ढोकाउपर कविता निम्नलिखित।।

३५
धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
तपस्या जो गर्छन् सरल मनले जीवनभरी।
तिनैको त्यै सत्य, श्रम र पसिनारूप तपको
चिरस्थायी यै हो परिणति उज्यालो गजबको।।

३६
गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना।
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति।।

३७
पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
उदेकाई केही समयतक फेरी तल तल।
म फर्कें, फर्कायें नयन, तर त्यो दिव्य नगरी
रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी।।

३८
निरुपम पसिनाका स्वर्गको सार सार
मसँग सब बताई भित्र अर्कै विचार।
लिइ मुनि बनिहाले मौन भावैक धाम
म पनि मनन त्यस्को गर्न लागें तमाम।।