Jump to content

Page:Tarun tapasi.pdf/96

From Nepali Proofreaders
Revision as of 20:54, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} कसैले द्योराली भनिकन ठुलो आदर गरे ::कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे। कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें ::कसैको लेखामा भय भुटिदिने भैरव भयें।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१५
कसैले द्योराली भनिकन ठुलो आदर गरे
कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे।
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें
कसैको लेखामा भय भुटिदिने भैरव भयें।।

१६
हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी
सदा पूजा गर्दै चरणतलमा लम्पट परी
पुकारा यो गर्थे 'प्रभु सकल इच्छा सफल होस्'
म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस्।।

१७
सदा यै चालाले अबुझहरु विश्वासवश भै
त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै।
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो
पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो।।

१८
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन्।
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको
कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको।।

१९
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे।
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि।।

२०
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
लिई माला, छालाउपर दृढ पद्माऽसन धरी।
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी।।