६
कुनै वेला आये युवक रसिला गोप लहडी
झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी।
पुछे औँला मेरो विपुल कटिमा त्यो सिंदुरको
बस्यो रातो धर्सो गुरुसदृश भै मूर्खहरुको।।
७
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो।
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
चढायो अर्काले किन किन मलाई फुल पनि।।
८
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि।
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
म द्यौता भैहालें अबुझ बटुवाको जुनिभरी।।
९
कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो।
कसैले श्रीखण्डप्रभृति बढिया चन्दन दियो
ध्वजा टाँगी कोही 'जय जननि' भन्दै घर गयो।।
१०
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित'।
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी।।
११
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी।
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजनकला
पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला।।
Page:Tarun tapasi.pdf/94
Appearance
This page has not been proofread
