२४
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो? अझ नभरिने त्यो हरि हरि।।
२५
कठै कस्ता कस्ता पुरुषहरु लाखौं चहकिला
नजान्नाले भित्री गहन तमको भेदनकला।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा।।
२६
म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैं सम्झी त्यो तर कति पलाको पिलिपिली?।।
२७
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवनकला
गर्यो उस्ले मेरै शिरबिच कठै दीर्घ सुकला।।
२८
यति भनि तपसीले सूक्तिनिस्यन्द थामे
करकमल उठाई आफनै माथ छामे।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो।।
Page:Tarun tapasi.pdf/85
Appearance
This page has not been proofread
