१८
फुका बाबू भित्री किरणगठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि बजा।।
१९
कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस्।
स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा।।
२०
खुलायिस् यो मेरो नयन जुन आलोकलवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैं बढ्दै जाऊन् अनवरत कर्तव्यपथमा।।
२१
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको।।
२२
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवणबिच चैतन्यमुरली।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस्।।
२३
अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा।।
Page:Tarun tapasi.pdf/84
Appearance
This page has not been proofread
