६
झिँगा जस्तो सानू तर अति कडा साहस धरी
फुकाई आशाको झलकमय आलोकगठरी।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
भयो मेरो भित्री हृदय सब आश्चर्यचकित।।
७
प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ?
सुधावर्षा गर्ने विशद विधुको गौरव कहाँ?
कहाँ त्यो विद्युत्को चहक? फिर तारा ग्रह कहाँ?
कठै त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ?।।
८
पखेटा खुल्दा त्यो क्षणभर हिरा झैं झिलिमिली
नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
हजारौं देखायो चटकमय लीला हरि हरि।।
९
घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौं लिइकन
बलैले त्यो गर्थ्यो तमजलधि सम्पूर्ण मथन।।
१०
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
निदायेको साह्रै कठिन डरलाग्दो समयमा।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी।।
११
थियो त्यो वेलाको जलधिमय कालो तम घना
सिपीको डुङ्गा झैं झलक, धृति, उत्साह बहना।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
न जाने दौडन्थ्यो कुन तट निहारी? हरि हरि।।
Page:Tarun tapasi.pdf/82
Appearance
This page has not been proofread
