१५
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी।
खिचातानी गर्दै फगत पसिनाको पल पल
हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल।।
१६
चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी
कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो?
कठै यस्को भित्री नयन किन तेसै धमिलियो?।।
१७
क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
सबै स्वाहा पारी पल पल बढाई विषमता।
पियारो यै पैसा अति कठिन हालाहलमय
बनी संसारैको पछि सहज गर्ला कि विलय?।।
१८
जगत्मा पैसाले विनिमयकला खूब सजिलो
भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा।।
१९
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
विवेकज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि।।
२०
जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो
अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको।।
Page:Tarun tapasi.pdf/77
Appearance
This page has not been proofread
