This page has not been proofread
१२
लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर
दिई खाना जम्बै जब जब गयेथे घर घर।
अनी सम्झें मैले डबल 'किन'को अर्थ गहिरो
चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो।।
१३
अहो पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो
कहाँ कैले निस्क्यो? कसरि दुनियाँको मन जित्यो?
कठै जस्को लागी अमृतमय त्यस्ता फल पनि
शुकी भोकै आफू, अरुकन दिये 'लौ किन' भनी।।
१४
न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा
न ता दिन्छन् प्रज्ञाबल, न त कुनै शान्ति मनमा।
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति
कठै त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति।।