This page has not been proofread
२७
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्यो मनुजगणले मङ्गलमयी।
कठै जान्दो हो ता नियम परपीडाहरणको
छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको।।
२८
ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी।
कठै पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन भयो।।
२९
यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले।
म पनि अति हलुङ्गो हातले अश्रुधारा
पुछिकन चुप लागें, सन्न भो देह सारा।।