This page has not been proofread
२७
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर
म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय?।।
२८
अहो त्यो वेलाको रविकिरणमाला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी।
थियो मानू वर्षा अमृतरसको शान्तिसुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको।।
२९
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो।
थिये त्यो वेलाका सकल रसिला जीवनघडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी।।
३०
यति भनि तपसीले माथ केही झुकाये
मधुर वचनधारा कण्ठभित्रै लुकाये।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालें मुहार।।