२२
सही चर्को ज्वाला नियतिगतिले बन्धन परी
रही त्यस्तो चालासित अधमरा जीवन धरी।
बितायें त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
मलाई त्यो भाग्योदयविधिविधाता गुरु भयो।।
२३
बजाई चौतर्फी विजयनगरा त्यो घननन
उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा।।
२४
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
जती गर्थ्यो कालो घनपटलमाथी झिलिमिली।
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
थियो मानू प्राणै उस घनघटाको परवश।।
२५
विधाता पग्ल्यो वा जलदघटदेखी जल चुह्यो
सुधा बर्स्यो यद्वा प्रकृतिजननीको दुध बह्यो।
अहो जस्ले गर्दा लहलह भयो जीवन सब
निमेषैमा उर्ल्यो शतशतगुणा वृद्धिविभव।।
२६
अकस्मात् मिल्नाले मधुरतम त्यो जीवनसुधा
भयो मेरा लेखा अमरनगरी तुल्य वसुधा।
उदायें, मौलायें, जड पनि जमायें वरिपरि
पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी।।
२७
क्रमसित घटनाको चित्र सारा उतारी
विकसित मुखशोभा शान्त गम्भीर पारी।
किन किन मुनि फेरी बेसरी चक्कराये
मधुर अमृत बग्दो सूक्ितधारा दबाये।।
Page:Tarun tapasi.pdf/23
Appearance
This page has not been proofread
