Jump to content

Page:Tarun tapasi.pdf/22

From Nepali Proofreaders
Revision as of 19:31, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१६}} हवाको, धर्तीको, गगनतलको जो तिन थरी ::बहन्थ्यो छातीमा रसबल उसैको भर गरी। उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको ::उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋत...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१६
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
बहन्थ्यो छातीमा रसबल उसैको भर गरी।
उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको।।

१७
विजेताको मानू विकट विजयोन्मादजनित
प्रतापज्वालाले सदृश, किरणश्रेणिखचित।
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा।।

१८
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये?।।

१९
न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको।
कठै त्यो वेलाको अति विकल सन्तप्त मनको
अवस्था नै अर्को, सहजसित शक्ने कहन को?।।

२०
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
छुट्यो मानू नाडीचलन, पदमा जीवन लुक्यो।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
म लिन्थें यो चोला बदलिकन अन्तैतिर जुनी।।

२१
निशाले छर्थी जो अमृतरस वा शीतलपन
उसैद्वारा गर्दै दिवसभरको दाहशमन।
जती चढ्थ्यो राती विकल मुटुमा जीवनबल
उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल।।