Jump to content

Page:Tarun tapasi.pdf/17

From Nepali Proofreaders
Revision as of 18:02, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२७
दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो
तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
तुरुन्ते श्रद्धाले कविकन लगाये कुतकुती।।

२८
[1]झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को?
कुटी यद्वा योगाश्रम कुन? कहाँ हो हजुरको?'
भनी सोधे श्रद्धासहित कविजीले जब अनि
उनी बोले 'मेरो चरित कविजी। लौ सुन' भनी।।

२९
पुरी मेदै माटो दनुज दुइको सागर भरि
हवादारी गारो चिनिकन दिशाको वरिपरि।
सफा नीलो ताराजडित गगनै छादन कसी
बनायेको राम्रो भुवनकुटियाको म तपसी।।

३०
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा
न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा।
न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण
खडा छू एकाकी जमिनबिच टेकेर चरण।।

३१
पिता माता को हुन्? कुन नियत वा कारण परी
लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी?
मलाई यो केही स्मरण अघिको छैन मनमा
म खाली हेर्दोछू प्रणयसित यो विश्वमहिमा।।

३२
सुती लेटी मिल्ने सुखसयल जानें न त रति
न ता कोही तीर्थभ्रमण सुख भोगें अलिकति।
जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा
सही लाखौं चर्का विपद अथवा सङ्कट कडा।।

  1. यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।