३
शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको
फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको।
झिकी सादा कापी, कलम अब लेखूँ म कविता
भनी ती टोलाये, तल तल चले देव सविता।।
४
थियो आलो कान्ताजनविरहको चोट मनमा
फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा।
तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर
झुकाये त्यो प्यारो कलम, दगुर्यो दूर नजर।।
५
तपस्वी कस्तो हो? कठिन तपको तत्त्व कुन हो?
भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्नि किन हो?
गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा
पर्यो सारा पृथ्वीतल मलिनिमाको परिधिमा।।
६
कसी तेर्छो चिल्लो घनपटलको नील कबरी
धरी उस्ता रातो चहक मसिनू चादर सरी।
चलीहाली सन्ध्यारमणि सबकै रङ्गरसमा
डुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा।।
७
फिँजी मैलो झाँक्रो मलिना तमको व्याकुल बनी
बडो चर्को गर्दै हुँचिलरवको क्रन्दन पनि।
कुनै काली आली विकल विंधवातुल्य रजनी
लडी छर्दै तारामय चहकिला भूषण पनि।।
८
समेटी ताराको चहक सब एकै पटकमा
लपेटी त्यो सारा अति निविड मालिन्यपटमा।
घुस्यो चालो चालो विकटतम कालो घनघटा
जुटाई चौतर्फी भुवनभरमा तस्करछटा।।
Page:Tarun tapasi.pdf/12
Appearance
This page has not been proofread
