४३
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा।
पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा।।
४४
काठ्ठियेर सदा रुन्छन् सारा वृक्षलताहरू।
शीतका रूपमा आँशु चुहायेर धुरूधुरू।।
४५
लतावृक्ष तुषाराले सब पार्यो थिलोथिलो।
जिङ्रिङ्ङ वन देखिन्छ, शोभाशून्य उराठिलो।।
४६
पक्षी कठै पखेटाको तुषारो टक्टक्याउन।
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन।।
४७
न चराको कतै रङ्ग, न कतै पुष्पपल्लव।
तुषारामा डुब्यो सारा वनको महिमा सब।।
४८
हरायो शीतको मारे वृक्षको बढने गति।
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति?।।
४९
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति।
आलस्यले अँठ्यायेका जातिजस्तै हतद्युति।।
५०
जराले जीवको दिव्य यौवनज्योति झैं सब।
दबायो शीतधाराले शरत्को पुष्पगौरव।।
५१
घुम्टो हालेर हुस्सूको शीतधारा चुहाउँदै।
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैं।।
Page:Ritubichar.pdf/59
Appearance
This page has not been proofread
