Jump to content

Page:Munamadan.pdf/9

From Nepali Proofreaders
Revision as of 13:07, 18 April 2025 by Rbn (talk | contribs)
This page has been proofread

झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ,
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ ।
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ ।
मलाई सानो पातीलो गाउँ पहाडी नालीमा,
मसिनो सानो वनचरी-कुर्लन जल बोल्ने थलीमा,
शहरबाट सुदूर नीरमा मोहनी कुनामा,
गन्धर्वपरी नेपाली कुर्लून्, प्रकृत टुनामा ।
हृदयले नै डोर्‍याई भाषा अर्थलाई मन्त्रेर,
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर ।
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन,
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन ।
पेशाले बिग्‍‌र्‍यो कविको धर्म, शब्दले मर्मघात,
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात ।
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,
आदिम तर नवीन चीजको वजन गुन्नेछन् ।
यो सानो झ्याउरे गीतको कथा नजर लगाई,
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई !