जन्मको मुटु थल
नछोड् है यो हाम्रो !
[७]
परीको शहर झैँ
बादल झैँ उँचा छ !
ताज लाउने हिमाली
दक्षिणी पहरालाई
पन्नाले लर्केको
तादीमा भुजा छ !
[८]
झुलनबाग झरेको
झर्नाले झर्झर छ !
नागिनी तादीले
पीर्तिले बेरेको
हिमालले हेरेको
क्या राम्रो शहर छ !
[९]
नीर थुम्का हाँसेर
हेर है हेरेको
पहिलो किरणले
मीठो म्वाइँ गरेको
एक झुम्का बादल छ
उत्तरमा झरेको ।
इन्द्रेनी रँग ज्यूदै
भुवामा परेको
[१०]
चरीको खलबलमा
गानाले सुर लिन्छ
पस्मिना छातीले
ढुक्कुरले कुर्लिन्छ !
तादीको इन्द्रेणी
पहाडमा उर्लिन्छ ।
[११]
गुण्डा हो त्यो तेरो
विन्ति ले यो मेरो,
एकछिनको भँवरो
भुनभुने नखरो !
[१२]
गोसाईथान बाटाको
छोरी-ठग लाटाको !
शहर पो के हुन्छ ?
यस्तै घर माटाको !
[१३]
नोबल् है विन्ति ले
आमाको गिन्ती ले ।
के खन्छेस् खाल्डो है
दशाको खन्तीले ।
[१४]
म्हेन्दु हेर् हेलम्बो
सेर्पाको झोलुङ्गो ।
चाँदीको दरबार झैँ
सुन गजूर घरबार झैँ ।
Page:Mhendu.pdf/11
Appearance
This page has been proofread
