Jump to content

Page:Ek chihan.pdf/113

From Nepali Proofreaders
Revision as of 08:17, 10 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोह्रमा तान्दा एक्का आएको जस्तो भयो ।

रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनुपर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिवनारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ?

प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुं प्रसन्न नै थिइन् ।

चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने प्रार्थना रामखेलावन राउतले गरे । शिवनारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि नै बिहे गर्ने शिवनारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले ।

अस्ति मात्र ‘पर्सि’ भनेर तीन दिन बाँकी भएको तिथि अहिले ‘आज’ भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य झन् चम्केको देखियो ।