Jump to content

Page:Ek chihan.pdf/100

From Nepali Proofreaders
Revision as of 08:09, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with ""मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् । आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् ।

आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुरा गरेजस्तो, कोही कसैको प्रतीक्षामा बसिरहेजस्तो, केके जस्तो, केके जस्तो उनको मनभित्र भावतरङ्ग तरङ्गिन थाल्यो ।

अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइसकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुंले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरिरहेकी थिइन् ।

नानीथकुंको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्नेमानिस जति तमाखु खानेतिर लागे, पुननारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझिरहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकिरहिन् । नानीथकुं आफूले खाएको जुठो माझेर गइसकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन ।

नानीथकुं उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकैछिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्तप्रसाद टुप्लुक्क आँखाअगाडि आइपुगेको नानीथकुंले देखिन् । उनलाई देख्नासाथ नानीथकुं फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्तप्रसादलाई राम्रो स्वागतभाव देखाउँदै उनले भनिन्- "यस बेला किन हस्याङफस्याङ गर्दै आउनुभएको डाक्टरसाहेब ?"

अलि सानो स्वरमा गोदत्तप्रसादले भने- "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठीकठाक भइसकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नुपर्ने छैन । रेडियोलगायतको व्यवस्था मिलाइसकेको छु ।"

"दाइहरूले सुन्नुहोला, अझ अलि सानो स्वरमा बोल्नुहोस् । के भन्नुभएको ?" अलि उत्सुकतासाथ नानीथकुंले भनिन् ।