Jump to content

Page:Ek chihan.pdf/99

From Nepali Proofreaders
Revision as of 08:09, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "त बिघ्नै डर भइरहेको छ । यस्तरी दिनका दिन पानी परिरहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।" "मैले पनि त्यही विचार गरिरहेको छु आमा ! जे गरेर पनि यसपालि घर नबनाईकन त हुँदैहुँदैन । मलाई प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

त बिघ्नै डर भइरहेको छ । यस्तरी दिनका दिन पानी परिरहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।"

"मैले पनि त्यही विचार गरिरहेको छु आमा ! जे गरेर पनि यसपालि घर नबनाईकन त हुँदैहुँदैन । मलाई पनि बिघ्नै फिक्री लागिरहेको छ ।" पुननारानले भात खाँदै भने ।

"यसपालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्षनारानले भने ।

"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यसपालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबू हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्- "अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुं र हर्षनारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइसकें । खोइ, नानीथकुंलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबू हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्षनारानलाई पनि कति जना केटी खोजिसकें, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्तअनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानीहो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"

खिस्स हाँसेर हर्षनारानले भने- "नानीथकुं त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनिसकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइसकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठीक छैन ।"

"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खिरहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि दुःखित भएर भनिन् ।

"घर बनेको पनि देख्नुहोला, बिहे पनि हेर्न पाउनुहुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनुहोला आमा !" हर्षनारानले श्रद्धापूर्ण भावमा भने ।