Jump to content

Page:Munamadan.pdf/41

From Nepali Proofreaders
Revision as of 01:45, 16 March 2025 by Rbn (talk | contribs) (Proofread)
This page has been proofread

बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र,
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ'
भनेर दिँदा बकले भन्थिन् 'मदन कहाँ छ ?'



कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओर्ह्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो
नजर फिर्‍यो, पसीना पुछी बोले ती बटुवा,
"सुबोल् सुबोल् हे ! ठाउँ सरी बस् न, आकाश-डुलुवा !
हेरेर आइस् ती आँखा तानी के मेरो शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल-सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवाबेद खाई !"
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
'कागले बुझयो, उडेर गयो, पुग्नेछ सबेर ।
बुझ्दैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !'
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !



शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप,