There was a problem when proofreading this page
कहाँ थियो वास ? कठै !! कहाँ झरें ?
कसो हुँदा भीषण सिन्धुमा परें ?
भनी म लागें फिर वास संझन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६८
‘नजा, नजा, त्यो परिपञ्चमा नजा,
म भित्र छू बाहिर छैन क्यै मजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६९
सुनेर यस्तो म फरक्क फर्कदा
कुतर्कको तार मरक्क मर्कदा ॥
झलक्क झल्क्यो चटकी अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७०
दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो सागर दु:ख सङ्कुल ॥
गडेर हेर्दा तँ सिवाय देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७१