"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइरहन सकौली ?"
"सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?"
"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुं !"
"थाहा भए के त ।"
"आउन रोकिदेलान् ।"
"म पशु त होइन, बाँधिराख्न सक्लान् ?"
"मनाही गरिदिए भने तिमी के गछर्यौ ?"
"म मान्दिनँ ।"
"नमानेर के गछर्यौ ?"
"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण भावमा नानीथकुंले भनिन् ।
"त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।"
नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले ।
अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- "तपाईंलाई अबेर भयो कि ?"
"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !" भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"
"एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन कुरा हो र ? बनाए छ, नबनाए छैन ।"
"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानैपर्छ होला !"