Jump to content

Page:Ek chihan.pdf/59

From Nepali Proofreaders
Revision as of 07:47, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "अठार बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अठार बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू कसैले गरेनन् ।

बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं आज तानकोठामा आउनसम्म पनि आइनन् ।

डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो । डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको दिलमा घाउ गराउँथ्यो ।