Jump to content

Page:Ek chihan.pdf/49

From Nepali Proofreaders
Revision as of 07:35, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सोह्र नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन,...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सोह्र नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनुपर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नुपर्ने जरुरत थिएन, गुठीगानाको भनूँ भने रामबहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द-व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनुपर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ-संस्था, दलविशेषको कुरा मानूँ भने आमा त्यस्ती मानिसै होइनन्, न त रामबहादुर नै त्यस किसिमका मानिस हुन् ।’

उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् ।

झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि ‘अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नुपर्ने कारणै के छ र ?’

उनले फेरि सोचिन् – ‘मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरिराखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ- संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीं जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?’

उनले फेरि सोचिन्- ‘म आफ्नो घरपरिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।’